दोस्रो वार्षिक साधारण सभा सम्पन्न |

लाफा ग्रुप लिमिटेड को दोस्रो वार्षिक साधारण सभा, २०७६ साल कात्तिक १८ गते, होटल रद्दिसों, काठमाण्डौमा भव्यताका साथ सम्पन्न भएको छ । सभाको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रि वर्षमान पुन "अनन्त" ले व्यवसायिक क्षेत्रमा लगानी गर्न अहिले उपयुक्त वाताबरण रहेको बताउनु भयो । पूरा काठमाण्डौ देखिने दहचोक को अग्लो डाडाबाट लाफा ग्रुप लिमिटेड ले व्यावसाय सुरुवात गर्नु एउटा अति महत्वपूर्ण विम्वको रुपमा रहेको कुरा चर्चा गर्नु हुँदै मगर समुदायले उचाइबाट सोच्नु राम्रो कुरा भएको तर त्यहि उचाइ मा टिकिरहनु अझै चुनौति पूर्ण रहेको ले नितान्त व्यवसायिक पद्दति बाट व्यवसाय गर्नु पर्ने कुरामा जोड दिनु भयो । उधोमसिलता र व्यवसायिक क्षेत्रमा अगाडि बढ्नु खुशी को कुरा रहेको र त्यसरी अगाडि बढ्न चाहनेहरुको लगानी सुरक्षा को लागि सरकार ले उपयुक्त वातावरण बनाउन सहयोग गर्ने बताउनु भयो । त्यसै गरी विशेष अतिथि महिला, बालबालिका तथा ज्येस्ठ नागरिक मन्त्री थममाया थापाले संयुक्त लगानी मार्फत मगर समुदायलाई व्यावसायिक क्षेत्र मा लगानी गर्न उत्प्रेरित गरेको मा लाफा ग्रुप लिमिटेड को प्रशंसा गर्दै अर्ग्यानिक उत्पादन बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकिने बताउनु भयो । ग्रामिण क्षेत्र का जनतालाई समेत समेटेर लैजान सके राष्ट्रको समृद्धिको अभियान मा सघाउ पुग्ने कुरा औंल्याउनु भयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष दण्ड गुरुंगले लाफा ग्रुपको व्यावसायिक सफलताको कामना गर्नु हुँदै यसबाट आफुलाई खुशी लागेको बताउनु भयो ।

कम्पनी का व्यावसायिक सल्लाहकार तथा फेलो चार्टर्ड एकाउन्टेण्ट निल सरु मगरले कुनै नयाँ योजना तय गर्दा सबै शेयर धनीहरुको सल्लाह सुझाव का साथ सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्न सुझाव दिनु भयो । अर्का सल्लाहकार एवं पूर्व प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले शेयर धनीहरुले भावनात्मक र व्यावसायिक हिसाबले लगानी गरेको हुनाले लगानी संरक्षण को लागि संचालक समिति ले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

लाफा ग्रुप लिमिटेडका विभिन्न सहायक कम्पनीहरु को तर्फबाट जिम्मेवार पदाधिकारी ले आ आफ्नो कम्पनीको बारेमा जानकारी दिनु भएको थियो । लाफा भिलेज रिसोर्ट प्रा.लि.का अध्यक्ष रक्ष बहादुर रैकाले पर्यटन क्षेत्रमा योगदान पुर्याउने उदेश्यले रिसोर्ट निर्माण तथा संचालन गर्न लागिएको बताउंदै लगानी को लागि आग्रह गर्नु भयो ।

लाफा रुंग फाउन्डेसन को तर्फबाट संस्था का सचिव डा. मिन श्रीस ले कम्पनी ले व्यावसायिक मात्रै नभएर सामाजिक उत्तरदायित्व पनि वहन गर्नु पर्ने जिम्मेवारी रहेको र सांस्कृतिक सम्पदाको संरक्षण को लागि समेत विशाल बुद्ध तथा हजार बुद्ध निर्माण गर्ने परिकल्पना गरिएको बताउनु भयो । लाफा होलिडेज प्रा.लि. का अध्यक्ष जीवन थापाले पर्यटन क्षेत्र आम्दानी को एउटा राम्रो स्रोत भएको ले यस क्षेत्रमा पनि लगानी गर्ने उदेश्यका साथ यस कम्पनी को स्थापना गरिएको र विदेशमा मा पनि स्थापना गर्ने लक्ष रहेको कुरा बताउनु भयो । लाफा बचत तथा संस्था लिमिटेड चितवन का अध्यक्ष महेन्द्र थापा ले वित्तीय क्षेत्रमा लगानी गर्ने उदेश्यले सहकारी को स्थापना गरिएको बताउनु भयो । लाफाखबर डट कमका संचालक एमबी आस्था ले सूचना प्रविधि को विकससंगै अनलाईन संचार माध्यमबाट सूचना सम्प्रेषण गर्न को लागि समाचार अनलाइन को सुरुवात गरिएको बताउनु भयो ।

लाफा ग्रुपको अध्यक्ष हिरा माया आलेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन संचालक समिति सदस्य रक्ष बहादुर रैका, कम्पनी सचिव हरि प्रसाद तिवारी र रुद्र श्रीस ले गर्नु भएको थियो भने संचालक समिति सदस्य जंग बहादुर थापाले स्वागत गर्नु भएको थियो । दोस्रो साधारण सभाले कम्पनी को आर्थिक एवं वित्तीय प्रतिवेदन आवश्यक सुझाव सहित सर्व सम्मत पारित गर्यो ।

कार्यक्रम मा लाफा ग्रुपले संचालन गरिरहेको व्यावसायिक परियोजना बारे तयार पारिएको वृत चित्र पनि प्रस्तुत गरिएको थियो ।

1 Comment

  1. धन बहादुर थापा मगर
    February 23, 2020

    समय सान्दर्भिक एकदमै सुहाउँदो छ
    खुशी लाग्यो ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *